विराटनगर /प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रीसहित आइतबार नियुक्त भएका राज्यमन्त्रीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

नवनियुक्त राज्यमन्त्रीहरुको पनि अग्निपरीक्षा सुरु भएको भन्दै मुख्यमन्त्री राईले ऐतिहासिक कार्यभार सफल रुपमा वहन गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्ट रुपले कार्यविभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन समेत दिए ।

कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउन उनको निर्देशन छ ।

आफूले भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया