प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ मा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा नियमन गर्ने बताएका छन् । सचेतना अभियान सञ्चालन गरी नियमन गर्ने बताएका हुन् ।

मन्त्री घिमिरेले चैतसम्म जागरण अभियान सञ्चालन गर्ने र १ वैशाखबाट प्रदेशमा सूर्तीजन्य वस्तुको नियन्त्रण र नियमन प्रदेश घोषणा गरिने बताए । सोमबार सूर्तीजन्य पदार्थको नियमनका लागि विराटनगरमा र्‍याली निकालिएको थियो ।

र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले प्रदेशमा सार्वजनिक स्थानमा सूर्तीको प्रयोग नियमन गर्ने बताएका हुन् । ‘मोरङको १७ वटा स्थानीय तहमा माघ मसान्तभित्रमा सार्वजानिक स्थलमा सूर्तीजन्य वस्तुको बिक्री, वितरणमा रोक लगाएपछि चैतभित्रमा अन्य १३ वटा जिल्लामा पनि लागू हुनेछ,’ मन्त्री घिमिरले भने, ‘वैशाख १ गतेबाट प्रदेश १ लाई सुर्तीजन्य वस्तुको नियन्त्रण र नियमन प्रदेश घोषणा गर्छौं ।’

मन्त्री घिमिरेले ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाउने बताए । ऐनलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने बताउँदै उनले कसैले पनि ऐनविपरीत काम गरेको पाइएमा कारवाही गरिने बताए ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले प्रदेशको राजधानी विराटनगरबाट सार्वजानिक स्थलमा सूर्तीजन्य वस्तुको प्रतिबन्ध लागाउने अभियानको थालनी भएको बताए । पहिलो चरणमा स्कूल र हस्पिटलदेखि १ सय मिटरभन्दा वरिपरीको क्षेत्रमा सूर्तीजन्य वस्तुको बिक्री वितरणमा प्रतिबन्ध लगाउने उनले बताए ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया