काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का चार सिटका लागि गठबन्धन गरेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टीबीच सभामुख तथा उपसभामुख निर्वाचनमा पनि अघोषित गठबन्धन देखिएको छ ।

नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेसँगै उपसभामुख राजपाले पाउने लगभग निश्चित भएको समाचार राजधानिदैनिमा प्रकाशित छ ।

राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने र आगामी दिनमा राष्ट्रिय राजनीतिमा छलफल एवं सहकार्य गर्दै अगाडि बढ्ने नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुई बुँदे सहमतिका कारण नयाँ उपसभामुख राजपाबाटै हुने सम्भावना बढेको हो ।

तर, राजपालाई उपसभामुख दिने कि नदिने भन्नेबारे नेकपाले निर्णय गरेको छैन । सभामुखमा नेकपा सचिवालयले सापकोटालाई उम्मेदवार बनाए पनि उपसभामुखबारे छलफल नभएको नेकपाले जनाएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले उपसभामुखको बारेमा अहिलेसम्म केही निर्णय गरेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार एउटै दल र उही लिंगको व्यक्ति सभामुख र उपसभामुख हुन पाउँदैन । त्यसैले, सभामुखमा नेकपाले पुरुष सांसदलाई अघि सारेपछि अन्य दलबाट महिला सांसद उपसभामुख हुने निश्चित छ ।

नेकपाले संसद्भित्र रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा नेपाल वा नेमकिपा र जनमोर्चाबाट उम्मेदवार उठाउन सक्छ । तर, स्रोतका अनुसार नेकपाले उपसभामुख कांग्रेस र समाजवादीलाई दिदैनन् । राष्ट्रियसभा निर्वाचनमा राजपासँग दुई बुँदे सहमति गरेको नेकपाले राजपालाई नै उपसभामुख दिएर सरकारमा थप समर्थन लिन सक्ने नेकपा स्रोतको दाबी छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ तर्फ रिक्त हुने ४ सिटमा नेकपाले दुई र राजपाले दुई सिट लिने र त्यसमा एकअर्कालाई सहयोग गर्ने सहमति यस अघि नै भइसकेको छ ।
राजपाले उपसभामुख पाएमा चन्दा चौधरी, अमृता अग्रहरी वा रानी मण्डलमध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ । चौधरी राजपा नेता महन्थ ठाकुर, अग्रहरी राजेन्द्र महतो र मण्डल अनिल झा निकटका सांसद हुन् । राजपाले उपसभामुख पाएपछि यी तीन महिला सांसदमध्ये एकलाई अघि सार्न सक्छ ।

अर्कोतर्फ जनमोर्चाका सांसद दुर्गा पौडेलको सम्भावना पनि उत्तिकै रहेको छ । नेकपाकै सहयोगमा निर्वा्चित भएको, जनमोर्चा कम्युनिस्ट पार्टी भएकाले पौडेललाई समेत नेकपाले अघि सार्ने सम्भावना रहेको छ । जनमोर्चा नेता मोहनविक्रम सिंहकी धर्मपत्नीसमेत रहेकी पौडेललाई नेकपाले अघि सार्न सक्नेछ । पौडेल प्युठान १ बाट नेकपाकै समर्थनमा विजयी भएकी हुन् ।

तपाईको प्रतिक्रिया