विराटनगर/ राष्ट्रिय सभाको भोली हुने निर्वाचनको प्रदेश नं १ मा तयारी पुरा भएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी लगभग पुरा भएको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो ।

निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाईएको उहाँले बताउनुभयो । एक दलित, एक महिला र अन्य एक गरि तीन जना राष्ट्रियसभा सदस्यका लागि भोली बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुने उहाँले जानकारी दिनुभयो । वीरेन्द्र सभागृहमा रहेको मतदानस्थलमा रहेको दुई केन्द्रमध्ये (क) मा प्रदेशसभा सदस्य र (ख) मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाईएको छ । निर्वाचनमा प्रदेश नं १ का प्रदेशसभा सदस्य ९३ तथा स्थानीय तह अन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख २ सय ७४ गरी कूल ३ सय ६७ जनाले मतदानमा सहभागी हुने छन् । । राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस र समाजवादी पार्टीे नेपालले उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया