राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ। प्रदेश- २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ। प्रदेश-२ मा नेकपा र राजपाले तालमेल गरेका थिए।

निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाले एकलौटी जित हात पारेको छ। प्रदेश-२ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको छ। राजपाले अन्य दलसँग चुनावी तालमेले गरेको भए नेकपाले त्यहाँ कुनैपनि सिट हात पार्न सक्ने थिएन। राष्ट्रिय सभा निर्वाचनका लागि ४५ उम्मेद्वार प्रतिष्पर्धामा थिए।

प्रदेश १ बाट महिला तर्फ इन्दिरा देवी गौतम, दलित तर्फ गोपी बहादुर सार्की आछामी र अन्य तर्फ देबेन्द्र दाहाल विजयी भएका छन्। उनीहरु तीनै जना सत्तारुढ नेकपाका उम्मेद्वार हुन्।

प्रदेश २ मा महिला तर्फ तुलसा कुमारी दाहाल र दलित तर्फ राधेश्याम पासवान विजयी भएका छन्। उनीहरु नेकपाका उम्मेद्वार हुन्। अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फ शेखर कुमार सिंह र अन्य तर्फ मृगेन्द्र कुमार सिंह यादव राजपाबाट विजयी भएका छन्।

बागमती प्रदेशबाट महिला तर्फ गंगा कुमारी वेलवासे, अन्य तर्फ बेदुराम भुसााल विजयी भएका छन्।

गण्डकी प्रदेशबाट महिला तर्फ भगवती न्यौपाने, अन्यतर्फ नारायण काजी श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता हुन्।

प्रदेश ५ बाट महिलातर्फ बिमला घिमिरे, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फबाट जग प्रसाद शर्मा, अन्यबाट गोपाल भटृराईले जित हात पारेका छन्। सबै नेकपाका उम्मेद्वार हुन्।

कर्णाली प्रदेशबाट महिला तर्फ सुमित्रा वि.सी. र अन्य तर्फ माया प्रसाद शर्मा विजयी भएका छन्। कर्णालीमा पनि जित्ने दुवै नेकपाका उम्मेद्वार हुन्।

तपाईको प्रतिक्रिया