संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पक्राउ गर्ने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलका अनुसार राणाविरुद्ध जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी दर्ता भएकाले उनलाई पक्राउ गर्ने तयारी थालिएको हो ।

अनुसन्धानमा खटिएको टोलीले घटनाका सर्जमिन मुचुल्का लगायतका सवै प्रमाण संकलन गरि पीडित महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।

सुनसरी जिल्ला अदालतमा निलम्बनमा परेका प्रहरी वरिष्ठ उपरिक्षक सौरभ राणालाई जवरजस्ती करणी मुद्धामा पक्राउ गरि अनुसन्धान गर्नका लागी प्रहरी प्रतिवेदन तयार गरि लगिएकाले अदालतले अनुमती प्रदान गर्ने बित्तिकै नियन्त्रणमा लिई हिरासतमा राख्ने प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

नेपाल सरकार गृह मन्त्रालयले उजुरी परेलगत्तै बिहीबार उनलाई निम्लबन गरे पछि जिल्ला प्रहरी कार्यालय, सुनसरीले बिहीवार साझमा‘जाहेरी दर्ता गरेको थियो ।

प्रहरी अधिकृतहरुका अनुसार राणा २०६९ सालमा प्रहरी उपरीक्षक (एसपी) भएर सुनसरी बस्दा ती महिलासँग चिनजान भएको थियो । त्यसपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा पनि उनी बसेका थिए ।

सुनसरी बसाइका क्रममा पीडित भनिएकी अन्दाजी ३७÷३८ वर्षीया महिलासँग राणाको घनिष्ठ सम्बन्ध बनेको अधिकृतहरु बताउँछन् ।

निलम्बित एसएसपी राणाले आरोपमा सत्यता नभएको दाबी गरेका छन् । उनले भने, ‘यो विषयलाई लिएर मलाई धेरै समयदेखि दुःख दिने काम भइरहेको छ ।’

उनले आफूमाथि लागेको आरोपबारे अन्य कुरा बताएनन् । भने, ‘केही दिनमै म यसबारे बोल्छु ।’

किटानी जोहरी परिसकेको विषयबारे जिज्ञासा राख्दा उनी ‘उजुरी’ मात्र परेको भन्दै पन्छिए ।

गत कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह मन्त्रालय पुगेकी थिइन् । जिल्लामा प्रहरीले एसएसपीविरुद्ध उजुरी लिन नमानेपछि काठमाडौं आउनु परेको उनको भनाइ थियो ।

उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् ।

तर, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरे पनि राणामाथि कारबाही भएको थिएन ।

तपाईको प्रतिक्रिया