कोरोना भाइरसको प्रकोप फैलिरहँदा चीनमात्रै होइन पूरा विश्वलाई यसको सन्त्रासले आतंकित पारेको छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पूरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ ।
शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण वुहानको खुला सडकमा एकजना व्यक्तिको शव भेटिएको छ। केही समय अगाडि चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको थियो। सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसका कारण मृत्यु भएको थियो। यसैले पनि उपचारमा खटिने स्वास्थ्यकर्मीहरु भयभित देखिएका छन्। कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहान सेन्टरमा सयाैंमेडिकल स्वयंसेवकहरु खटाइँदैछ।
प्रकोपको रुप लिइरहँदा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहन चिकित्सकहरुलाई डर नलाग्ने कुरै भएन। वुहान सहरमा उपचारका लागि गइरहेका चिकित्सक तथा नर्सका आफन्तहरुले ती सहरमा पठाउनका लागि बिदाइ गर्दा आँसु थाम्न सकेनन्।केहीले त योबिदाइलार्ई ‘चेर्नोबिल सुसाइड मिसन’ सँग जोडेरसमेत हेरे।एउटा भिडियो फुटेजमा आफन्तहरुले बिदाइका हात हल्लाइरहँदा उपस्थित भीडमा सबैजना भावविह्वलदेखिन्छन्। सबैका आँखा टिलपिल देखिन्छन्। उनीहरु सुँक्सुकाइँरहेका छन्। एकअर्कालाई कसेर अँगालोमा बाँधिएका देखिन्छन्। कोरोना भाइरसको त्रासमा रहेका मानिसहरु कसरी हाँसीखुसी बिदाइ गर्न सक्लान् र?
चाइना सेन्ट्रल टेलिभिजनमा सियानका एक चिकित्सकलाई श्रीमतीसँगको अन्तिम ब्रेकफास्ट भनेर एक भिडियोमा देखाइएको छ। उनी वुहान जान लागेका छन्। ४४ वर्षे डा. लि यु सियान जाउटङ युनिभर्सिटीका प्रमुख फिजिसियन हुन्। उनकी श्रीमतीझाउ जिङ नर्स हुन्। साउका अनुसार उनका श्रीमान २००३ मा फैलिएको सार्सको महामारीमा पनि खटिएका थिए।
डा. लि भन्छन्, ‘यदि तपाईंलाई रोगको बारेमा राम्रो जानकारी भएन भने डरलाग्दो हुन्छ। मैले यसबारेमा राम्ररी बताए अनि श्रीमतीलाई सम्झाउन सके‌ं।’ झाउ भन्छिन् म अझै पनि डराएकी नै छु। डा. युलाई बुबाले भिडियो कलमार्फत शुभकामना पनि दिएका छन्। आफ्नो ख्याल राख्नका लागि आग्रह गरेका छन्।