– लमजुङको बेसीशहर नगरपालिका–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी परेको छ ।बेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालयलमजुङमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वडाध्यक्ष बरालले गत मंगलबार (माघ २१ गते) आफ्नो फर्मको ढोका फोडेर कुखुरा चोरी गरी लगेको भन्दै राउतले उजुरी दिएका छन् । वडाध्यक्ष बरालले आफ्नो फर्मबाट ५ सय जति कुखुरा चोरी गरेर लगेको राउतको आरोप छ ।

तर, वडाध्यक्ष बरालले भने चोरी गरेको नभइ किसान राउतकै अगाडिबाट कुखुरा उठाएर लगेको बताएका छन् । वडाध्यक्ष बरालले आफ्नो ऋण नतिरेपछि राउतको फर्मबाट कुखुरा उठाएको बताए ।

‘वडाध्यक्षमा निर्वाचित हुनु अगाडि म पसल सञ्चालन गरेर बस्दै आएको थिएँ । मविरुद्ध उजुरी दिने राउतजीले २०७३ सालदेखि मेरो पसलबाट कुखुराको दानादेखि कुखुराका चल्ला र कुखुरा नै पैसा नतिरी उदारोमा लैजाने गर्नुहुन्थ्यो । अहिलेसम्मको हिसाव गर्दा उहाँले मलाई १ लाख ६६ हजार रुपैयाँ तिर्न बाँकी छ,’ वाडध्यक्ष बरालले भने, ‘पछिल्लो करिब ४५ दिन अगाडि पनि उहाँले मबाट ४ सय ६० वटा कुखुरा पैसा नतिरी पाल्छु भनेर उधारोमा लिनुभएको थियो । तर, मेरो पैसा नतिरी उहाँले ती कुखुरा अन्य व्यक्तिलाई बेच्न लागेको थाहा पाएपछि मैले आफ्नै कुखुरा उठाएर ल्याएको हुँ ।’

किसान राउतसँग उनले ४५ दिनसम्म कुखुरालाई दाना खुवाउन लागेको खर्च व्यहोर्ने गरी आफैंले उधारोमा दिएको कुखुरा उठाएर ल्याएको वडाध्यक्ष बरालको भनाइ छ ।

तपाईको प्रतिक्रिया