काठमाडौँ : चीनको हुपई प्रान्तबाट सुरु भएको कोरोना भाइरस बिस्तारै अन्य देशमा पनि महामारीको रुपमा फैलन थालेको छ ।

जापान, कोरिया, इरान हुँदै युरोपमा पनि कोरोना भाइरस चुनौती बन्न थालेको छ । युरोपका कतिपय मुलुकले यसबाट बच्न अनेक उपाय अपनाउनु परेको छ । युरोपमा यसका बिरामीको संख्या बढ्दो क्रममा छ ।

चीनपछि सबैभन्दा धेरै प्रभावित मुलुक भने चीनकै छिमेकी दक्षिण कोरिया बनेको छ । दक्षिण कोरियाको थेगु र यसको नजिकको काउन्टी चेओन्डोलाई ‘स्पेसल केयर जोन’ घोषणा गरेको थियो ।

यँहा अवस्थित सामसुङ कम्पनी पनि भाइरसका कारण बन्द गरिएको छ । उक्त कम्पनीमा कार्यरत दुईजनामा संक्रमण देखिएका कारण कम्पनी बन्द गरिएको बताइएको छ । दक्षिण कोरियाको डेग्यूमै अवस्थित ‘सिन्छेजु’ नाम गरेको चर्चबाट फैलिएको कोरोना भाइरस अहिले कोरियाका अन्य सहरमा पनि देखिन थालेको छ ।

भाइरस संक्रमित भेटिएको दिनमा उक्त चर्चमा एक हजार मानिसहरुको सहभागिता थियो । कोरियामा सुरुमा ६३ वर्षीय वृद्ध भाइरस संक्रमित भएको र उनीबाट नै अन्यमा फैलिएको जनाइएको छ ।

दक्षिण कोरियाको गिम्पो सहरमा भेटिएका संक्रमित व्यक्तिहरु पनि उक्त चर्चबाट नै फर्किएको पुष्टि भएको छ । कोरियामा अधिकांश कम्पनी र पार्कहरु अहिले बन्द गरिएको छ । त्यहाँका मानिसहरुलाई बाहिर घुम्न र आवतजावत गर्न समेत निषेध गरिएको छ ।

दैनिक उपभोग्य वस्तु पनि अनलाइन मार्फत ‘अर्डर’ गर्ने व्यवस्था मिलाइएको छ । विश्वका धरै मुलुकमा चिनियाँ उत्पादन सुलभ रुपमा पाइन्छ । कोरियामा रहेका चीनबाट आयात हुने अधिकांश पाटपुर्जा कम्पनीहरु भने लगभग बन्द हुने स्थितिमा पुगेका छन् ।

दक्षिण कारियामा रहेका अन्य देशका नागरिक भाइरस संक्रमणको डरले घर फर्किएमा त्यहाँ जनशक्तिको अभाव हुने भयले सरकारी रुपमा नै कसैलाई घर नपठाउने सूचना समेत जारी गरेको छ ।

कोरियामा प्राय यूनिर्भसिटीका अन्य देशका विद्यार्थीहरु अहिले छुट्टीमा घर गएका छन् । २०२०, मार्चदेखि त्यहाँको यूनिभर्सिटीमा नयाँ सेमेस्टर सुरु हुने गर्छ । कोरिया फर्कने ती सबैलाई आफ्नै कोठामा क्वारेन्टाइनको व्यवस्था गरेर दुई हप्ताको लागि राखिने व्यवस्था गरिएको छ ।

दक्षिण कोरियामा भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने जम्मा पाँच सय ५६ मा भाइरस संक्रमण भएको पुष्टि भएको छ । साथै भाइरस संक्रमण निको हुनेको संख्या १८ पुगेको छ ।

कोरियाका नेपाली त्रसित

दक्षिण कोरियाको थेगु भन्ने ठाउँमा १० हजार भन्दा बढी नेपाली हुनसक्ने अनुमान गरिएको छ । जुन ठाउँ कोरोना प्रभावित क्षेत्रको रुपमा चिनिएको छ । अर्को प्रभावित सहर गिम्पोमा भाइरस संक्रमण हुनेको संख्या १४ पुगेको छ । उक्त सहरमा करीब ७ हजार नेपाली बसोबास गर्दै आएका छन् ।

सोलस्थित नेपाली राजदूतावासले दक्षिण कोरियामा रहेका नेपालीलाई भाइरसको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्दै गएपछि यहाँ रहेका नेपालीलाई संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन राजदूतावासले आग्रह गरेको हो ।

‘कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपाय प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना भाइरसबाट सुरक्षित रहन विभिन्न शिलशिलामा हाल दक्षिण कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नेपाली राजदूतावास सोल विशेष अनुरोध गर्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

कोरियामा झण्डै ४० हजार नेपाली छन् । दूतावासका अनुसार कोरोना भाइरसबाट संक्रमित कोही पनि नेपाली छैनन् । यद्यपि उनीहरु त्रसित रहेको बताइन्छ । चीनमा कोभिड १९ बाट मृत्यृ हुनेको संख्या २ हजार ४ सय ४५ पुगिसकेको छ भने भाइरसबाट संक्रमित हुनेको संख्या ७७ हजार पुगेको पुष्टि भएको छ । साथै २२ हजार ९ सय ३६ भाइरस संक्रमणबाट निको भएको चिनियाँ सिजिटिएनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया