काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार गृहजिल्ला आएका छन् । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास मुद्दामा अदालतबाट सफाई पाएपछि पहिलोपटक घर आएका हुन् । उक्त मुद्दाका कारण मतदातामा रहेको अन्योल मेट्न र आफ्नो समस्या सुनाउन जिल्ला आएको उनले बताए ।

उनलाई दाङ प्रवेशबिन्दु धानखोलादेखि नै फूलमाला र बाजागाजाले स्वागत गरिएको थियो। भालुबाङ, लमही, गोग्ली र घोराहीमा सडकमा लामबद्ध कार्यकर्ता र शुभेच्छुकहरुले माला र अबिरसहित महराको स्वागत गरेका थिए। महराले शुभेच्छुकहरुलाई सम्बोधन गर्दै आफू तीन महिना भूमरीमा परेको बताए। ‘म तीन महिरा भूमरीमा परें। अहिले छुट्कारा पाएको छु। कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन सक्दैन,’ उनले भने, ‘अन्तमा मैले न्याय पाएको छु। यो मेरो जीत होइन, तपाईं जनताहरुको हो।’

आफू दाङ आउँदा यति धेरै स्वागत र सम्मान होला भन्ने नसोचेको बताउँदै उनी भावुक भए। ‘बाटैभरी मलाई यति धेरै स्वागत भयो। मैले यस्तो हुन्छ भन्ने सोचेको थिइनँ। म जनताको साथमै छु। दाङको विकासका लागि कटिबद्ध छु,’ उनले भने, ‘म नेपाली हुँ, राष्ट्रवादी हुँ। राष्ट्रिय स्वाधिनताका लागि मेरो शिर सधैं ठाडो हुन्छ।’

अहिले आफू धेरै बोल्ने पक्षमा नरहेको उनले बताए। ‘म अहिले धेरै बोल्दिनँ। म जनताको साथमा आएको छु,’ उनले भने, ‘जनताको तागतको अगाडि कसैको केही लाग्दैन। मलाई जनताको साथ छ। यही नै ठूलो कुरा हो।’ उनी सडकमा कार्यकर्ताहरुलाई सम्बोधन गरेपछि कडा सुरक्षबीच सिधैं घोराही–१७ पनौरास्थित घर गए। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया