काठमाडौं / प्रहरी निरीक्षकले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घर घेर्न पुगेका मध्ये एक बच्चा बोकेकी एक महिलामाथि प्रहरीले लाठी प्रहार गरेको छ । उक्त लाठी प्रहार भएको घटनामा महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हान्ने इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो ।

उक्त समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ । माला शाह नामक महिलाले खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै केही महिलाहरु लिएर उनको घर घेर्न पुगेकी थिइन् । ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छिन् ।

लाठी खाने महिला चार महिनादेखि खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी माला शाहलाइ सहयोग गर्न खत्रीको घरमा ‘धर्ना’ पुगेकी हेमा श्रेष्ठ हुन् । उनी आफूलाई अभियन्ता बताउने आएकी थिइन् । उनलाइ प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको थियो । उक्त घटनामा प्रहरीले ६ जना महिलालाई नियन्त्रणमा लिएको थियो ।

केहि महिना अघि खत्रीले शाहसहित तीन महिलाले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएपछि शाहसंग प्रहरीले सोधपुछ गर्ने क्रममा शाह र खत्रीको सम्बन्ध बाहिरएपछि शाहले सामाजिक सञ्जालमा त्यसबारे अभिव्यक्ति दिँदै आएकी थिइन् । उनले दुई दशकदेखि सँगै बसेको र नाता प्रमाणित गरिदिनुपर्ने र २० लाख दिएको दावी गर्दै उनले सो रकम फिर्ता मागीरहदाँ खत्रीले भने शाह द्वन्दको समयमा सुचक मात्र रहको बताउदै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया