सांसदहरुले ‘लिभिङ टुगेदर’ सम्बन्धी स्पष्ट कानुन नहुँदा बिकृति बढेको भन्दै कानुन बनाएर लिभिङ टुगेदरलाई नियमन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्ने सांसदहरुले लिभिङ टुगेदर सम्बन्धी कानुन बनाउनु पर्नेमा जोड दिएका हुन्। नेपालमा लिभिङ टुगेदर ९विवाह नगरी महिला पुरुष सँगै बस्ने० बढ्दै गएपनि त्यसलाई सम्बोधन गर्ने कानुन नहुँदा विशेषगरी महिलाहरु पीडित भइरहेका सांसदहरुको भनाई छ।

बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदर नेपालमा पनि प्रचलनको रुपमा बढ्दै गएको तर त्यसलाई नियमन गर्ने कानुन नहुँदा समस्या सिर्जना भएको बताइन्। ‘हामीसँग वैवाहिक कानुन छन्। घरेलु कानुनहरू छन्। त्यसलाई पनि लिभिङ टुगेदरले प्रभावित पारिरहेको छ,’ उनले भनिन्, ‘कस्तो अवस्थामा विवाह नगरी महिला पुरुष सँगै बस्न पाउने र कस्तो अवस्थामा बस्न नपाउने भन्ने स्पष्ट रुपबाट कानुन बनाउनु जरुरी छ। त्यस्तो कानुन बन्यो भने मात्रै विद्यमान कानुन कार्यान्वयन गर्न सहज हुन्छ।’

उनले लिभिङ टुगेदर बारेमा सरकारले छिटो भन्दा छिटो एउटा स्पष्ट खाका कोरेर सदनमा छलफल गराउन आवश्यक रहेकोमा जोड दिइन्।

एमालेकी सांसद बिन्दा पाण्डेले पनि लिभिङ टुगेदरसम्बन्धी कानुन बनाउन ढिलाई भइसकेको बताइन्। उनले लिभिङ टुगेदरको सन्दर्भमा प्रभावकारी कानुन निर्माण गर्नका लागि मूल राजनीतिक नेतृत्वको मानसिकता नै परिवर्तन हुनुपर्नेमा जोड दिइन्।

विवाहित पुरुषले बाहिर कोठा लिएर महिला राख्ने क्रम बढेको भन्दै उनले कस्तो लिभिङ टुगेदरलाई मान्यता दिने, कस्तोलाई नदिने स्पष्ट रुपमा कानुनी व्यवस्था गरिनु पर्ने बताइन्। ‘विवाह नगरी कोही महिला पुरुष लिभिङ टुगेदरमा बसेका छन् भने त्यसलाई पनि कतै न कतै रजिस्ट्रेसन गरिनुपर्छ, नत्र त्यसले महिला नै पीडित हुने क्रम बढ्दै जाने छ।

बैठकमा महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले कानुन बाझिन नहुने गरी लिभिङ टुगेदर सम्बन्धी कानुन बनाउनु पर्ने बताइन्।

तपाईको प्रतिक्रिया