अन्तर्राष्ट्रिय बजारमै महँगो मूल्य पर्नेमध्येको लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन)सहित विराटनगरबाट एक जनालाई प्रहरीले मङ्गलबार साँझ पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर महानगरपालिका–१२ का २६ वर्षीय कुनाल सिंहलाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनको साथबाट ३२ ग्राम ब्राउनसुगर फेला पारेको थियो । ब्युरोले आवश्यक अनुसन्धान र कारबाही अघि बढाउनका लागि पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारुङका अनुसार साथबाट ब्राउनसुगर, त्यसको किनबेचमा प्रयोग गरिँदै आएको डिजिटल तराजु र को३३प ३३१४ नम्बरको मोटरसाइकलसहित सिंह पक्राउ परेका हुन् । डिजिटल तराजु र ठूलो परिणामको ब्राउन सुगर भेटिएपछि पक्राउ परेका सिंह लागुऔषधका कारोबारी भएको हुनसक्ने आशङ्का गरिएको छ ।
डिएसपी मुकारुङले सिंहविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार सिंहलाई विराटनगर–१२ बाट मङ्गलबार साँझ ५ बजेतिर पक्राउ गरिएको हो ।


















