आज (आइतबार) बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ ।
साढे तीन महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकमा यो पटक पनि प्रदेश नामकरणको विषयले प्रवेश नपाउने भएको हो । बैठकको कार्यसूचीसमेत तय भइसकेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले जारी गरेको सूचना अनुसार आजको प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुनेछ ।
यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दलहरूले नामकरणको विषयमा सहमति गरेर यही अधिवेशनमा प्रदेशसभामा दर्ता गर्ने दाबी गर्दै आएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मङ्सिर १ गते स्थगित भएको प्रदेशसभा बैठक बिजनेस अभावमा लामो समय स्थगित भएको हो ।


















