मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट चौथो पटक चुनावी मैदानमा उत्रिएका घनश्याम खतिवडाका लागि यो पटकको प्रतिस्पर्धा एउटा निर्वाचन मात्रै नभएर राजनीतिक जीवनकै ‘अग्निपरीक्षा’ र ‘अन्तिम लडाइँ’ पनि हो ।
खतिवडाको चुनावी खर्चको एउटा रोचक किस्सा छ । २०७० को चुनावमा ७ कट्ठा र २०७४ को चुनावमा १० कट्ठा जग्गा बेचेर उनले चुनावी खर्च जुटाए । खतिवडा एमाले कोशी प्रदेशका अध्यक्षसमेत हुन् । २०७४ को चुनावताका उनी आफ्नी पत्नी दिलकुमारीलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न विराटनगरको होटल ह्यारिसन पुगेका थिए । कुराकानीका क्रममा खतिवडाले आफूले जग्गा बेचेर चुनाव लडेको सुनाए ।
ओलीलाई विश्वास लागेन र उनले पत्नी दिलकुमारीतिर हेर्दै सोधे, ‘यिनले साँच्चै कति जग्गा बेचे ?’ । जब पत्नीले ‘१७ ककट्ठा’ भन्ने जवाफ दिइन्, ओली झस्किए । उनले ठट्टा गर्दै भनेका थिए, ‘यिनले त तिमीलाई सडकमा पुर्याउने भए । बाँकी भएको जग्गा चाहिँ छिट्टै आफ्नै नाममा पास गरिहाल्नु ।’ ओलीको सुझावपछि खतिवडाले बाँकी सम्पत्ति श्रीमतीको नाममा नामसारी गरिदिए र चुनाव जितेर संसद् छिरे ।
घनश्याम खतिवडा कुनै समय शिक्षक थिए । २०३८ देखि २०४२ सालसम्म मोरङको बुद्ध माविमा पढाउँदा उनको मासिक तलब ५ सय रुपैयाँ थियो । तर, मदन भण्डारी र गुरु बरालले ‘पूर्णकालीन राजनीति’मा आउन भनेपछि उनको जीवनले नयाँ मोड लियो ।खतिवडा ‘स्थायी’ हुने तरखरमा थिए । उनले जागिर नछोड्ने मनसाय बनाएका थिए । तर, जननेता मदन भण्डारीले सोधे, ‘तपाईंको जागिर ठूलो कि पार्टीको आदेश ?’ यो प्रश्नले उनलाई निरुत्तर बनायो । अन्ततः पूर्वएमाले नेता अशोक राईले खतिवडाको राजीनामा लेखिदिए र उनी शिक्षकबाट पूर्णकालीन राजनीतिज्ञ बने ।
यसपटक मोरङ–१ को चुनावी मैदान निकै भिडभाडयुक्त र रोचक छ । यहाँ १७ जना उम्मेदवार छन् । जसमा नयाँ र पुराना शक्तिबीच कडा टक्कर देखिन्छ ।
१, खड्ग फागो (कांग्रेस) : उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख फागो विकासप्रेमी र जनस्तरमा भिजेका नेता मानिन्छन् ।
२, कुलप्रसाद साम्बा (नेकपा) : पूर्वप्रदेश सांसद र जनयुद्धका कमान्डर साम्बाको आफ्नै बलियो आधार इलाका छ ।
३, यज्ञमणि न्यौपाने (रास्वपा) : झापा–५ मा केपी ओलीसँग भिड्ने चर्चामा रहेका न्यौपाने मोरङ–१ मा आएपछि ‘घण्टी’को क्रेजले पुराना दललाई झस्काएको छ ।
४, शान्ति पाख्रिन (श्रम संस्कृति पार्टी) : हर्क साम्पाङ नेतृत्वको यो पार्टीको पहिलो आमसभा मोरङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने लेटाङमा भएको थियो । सभामा हजारौं सहभागी थिए । श्रम संस्कृति पार्टीको प्रभाव पनि यहाँ निर्णायक हुन सक्छ ।
यसबाहेक राप्रपाका पूर्णबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी दिलकुमारी लावतीले पनि उल्लेख्य मत काट्ने अनुमान गरिएको छ ।
















