नेपालीकांग्रेसकावरिष्ठ नेता डा शेखर कोइराला ले स्थानीयवासीको वर्षौंदेखिको समस्या समाधान गर्ने उद्देश्यका साथ जामुनगाछी सडकखण्ड निर्माणमा आफूले अग्रसरता लिएको बताएका छन्। नेपाली कांग्रेस वडा नं। ५ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गत प्रतिनिधि सभा निर्वाचनका क्रममा जामुनगाछीका बासिन्दासँग गरिएको प्रतिबद्धताअनुसार सडक निर्माण सम्पन्न गरिएको जानकारी दिए।

मोरङ क्षेत्र नं। ६ बाट नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका नेता कोइरालाले बर्खायाममा सडक हिलाम्य हुने र हिउँदमा अत्यधिक धुलो उड्ने समस्याबाट स्थानीयलाई मुक्त गराउन सफल भएको बताए। वर्षौंदेखि सर्वसाधारणले सास्ती भोग्दै आएको उक्त समस्या समाधान भएपछि स्थानीयको दैनिकी सहज भएको उनले उल्लेख गरे।

सडक निर्माण प्रक्रियामा विभिन्न अवरोध आए पनि आफूले मन्त्रीस्तरीय निर्णयमार्फत काम अघि बढाएको उनको भनाइ छ। प्रारम्भिक चरणमा ठेकेदारले काम अधुरै छाड्न खोजेको अवस्था आए पनि सम्बन्धित निकायसँग समन्वय गरी निर्माण कार्यलाई निरन्तरता दिइएको उनले स्पष्ट पारे। “स्थानीयसँग गरेको वाचा पूरा गर्नु मेरो दायित्व थियो। त्यसैले आवश्यक पहल गरी मन्त्रीस्तरीय सहयोगबाट सडक निर्माण सम्पन्न गराएँ,” उनले भने।

उनका अनुसार उक्त सडक स्थानीय चाँदनी चौक हुँदै केशलिया खोला सम्म जोडिएको छ। सडक निर्माणपछि यातायात सुविधा सहज हुनुका साथै कृषि उपज ढुवानी, विद्यालय आवागमन तथा साना व्यवसाय सञ्चालनमा सकारात्मक प्रभाव परेको छ। स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको पूर्वाधार विकासको काम पूरा भएकोमा उनले खुसी व्यक्त गरे।

यसै सन्दर्भमा नेता कोइरालाले केशलिया खोलामा तटबन्धन निर्माणको काम अझै बाँकी रहेको बताए। बर्खायाममा खोलामा आउने बाढीका कारण आसपासका बस्ती डुबान र कटानको जोखिममा पर्ने गरेको उल्लेख गर्दै उनले तटबन्धन निर्माणलाई आगामी प्राथमिकतामा राखिएको जानकारी दिए। आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराए उक्त कार्य अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे।

त्यस्तै, वित्तीय आयोगको सर्वेक्षणअनुसार विराटनगर महानगर सुशासन र विकासका सूचकमा पहिलो स्थानमा परेको उल्लेख गर्दै उनले यस उपलब्धिलाई निरन्तरता दिने अठोट व्यक्त गरे। शिक्षा, स्वास्थ्य, पूर्वाधार र सरसफाइजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर विराटनगरलाई अझ व्यवस्थित, सुरक्षित र सुन्दर सहरका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए।

नेता कोइरालाले विकास निर्माणका कार्यलाई निरन्तरता दिन जनताको साथ र विश्वास आवश्यक रहेको धारणा व्यक्त गर्दै स्थानीय समस्याको समाधानका लागि आफू सदैव प्रतिबद्ध रहने बताए।

तपाईको प्रतिक्रिया