धरान । सुनसरीको धरानबाट करिब एक टन गाँजा बरामद भएको छ । एक टनको एक हजार किलो हुन्छ ।
प्रहरीले मंगलबार बिहानका राति ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको दुईवटा सवारीसाधनलाई नियन्त्रणमा लिएर दुई जना चालकलाई पक्राउ पनि गरेको छ ।
नियमित चेकजाँचका क्रममा प्रहरीले ९५५ किलोग्राम गाँजा फेला पारेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार धरान उपमहानगरपालिका–२० बरडाँडामा शंकास्पद अवस्थामा रहेका सवारीसाधन रोकेर प्रहरीले चेकजाँच गरेको थियो । चाँदी बजारबाट विष्णुपादुकातर्फ जाँदै गरेका दुईवटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर तलासी गर्दा ९५५ किलो गाँजा बरामद भएको जानकारी उनले दिए ।
प्रहरीका अनुसार बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडीमा ३३ वटा पोकाबाट ४९५ किलोग्राम गाँजा फेला परेको छ । उक्त गाडीका चालक बारा जिल्लाको कोल्हवी नगरपालिका–८ का ३३ वर्षीय सन्दीपकुमार माझीलाई पक्राउ गरिएको छ ।त्यसैगरी, बा एसी ३२३६ नम्बरको अर्को गाडीमा २३ पोकाबाट ४६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । सो गाडीका चालक काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । दुवै गाडीबाट ९५५ किलोग्राम गाँजा बरामद भएको हो ।
बरामद गाँजा, सवारीसाधन तथा दुवै चालकलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।गाँजा कहाँबाट ल्याएर कता लैजान खोजिएको हो भन्ने यकिन छैन । अन्तिम गन्तव्य, संलग्न मुख्य गिरोह तथा आर्थिक कारोबारको पाटोका बारेमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
















