इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा रहेको फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा ‘फुजिसन खेलकुद प्रतियोगिता’ मंगलबारदेखि सुरू भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयका खेलाडीहरूबीच फुटबल, भलिबल, दौड (रन), तेक्वान्दो, टेबल टेनिस, डोरी तान, एथलेटिक्स, बास्केटबल, कबड्डी लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने छ।
यसैगरी प्रतियोगितामा अभिभावकहरूबीच पनि भलिबल, फुटबल र डोरी तान जस्ता खेलहरू आयोजना गरिने भएको छ, जसले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
कार्यक्रमकै अवसरमा फुटबल क्षेत्रमा योगदान पुर्याएका तथा अन्डर–१६ साफ फुटबल प्रतियोगितामा सहभागी भई हाल सातदोबाटो युवा क्लबबाट खेल्दै आएका असिम राईलाई नगदसहित खादा–मालाले सम्मान गरिएको थियो।
अध्यक्ष लालबहादुर श्रेष्ठले खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्यन्तै महत्वपूर्ण भएकाले यस्ता प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
त्यसैगरी प्रमुख अतिथि केशव विष्टले विद्यालयले शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउँदै विद्यार्थीलाई सक्षम र अनुशासित नागरिक बनाउन भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक राकेश श्रेष्ठले पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सक्रिय गराउँदै आएको जानकारी दिनुभयो। उद्घाटन सत्रमा ‘फुजिसन रन’ अन्तर्गत निर्धारित दूरीको दौड प्रतियोगिता सम्पन्न गरिएको थियो।
कार्यक्रममा विद्यालयकी परामर्शकर्ता निर्मला पौडेल, अन्तर्राष्ट्रिय टेबल टेनिस अम्पायर राजेश भट्टराई, कोशी फुटबल संघका सचिव केशव कार्की, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल, सुनसरी एकेडेमी इटहरी ब्याडमिन्टनका अध्यक्ष सुरेश कार्की, तरहरा रनका अध्यक्ष शिव राई, तरहरा साइक्लिङ क्लबका अध्यक्ष रमेश भण्डारी, कराते इटहरी नगरका उपाध्यक्ष सूर्य गिरी लगायत खेलकर्मी, प्रहरी, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
















