काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी प्रभावित भएका छन् । साथै निजी मेडिकल कलेज तथा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत कार्यरत करिब दुई हजार दुई सय जनाको रोजगारी गुमेको छ ।

विराट मेडिकल कलेजमा उपचारका लागि दैनिक ३० देखि ३५ प्रतिशत बिरामी स्वास्थ्य बिमामार्फत आउने गरेका थिए । ती बिरामीको व्यवस्थापनका लागि अस्पतालले ११० जना छुट्टै कर्मचारी नियुक्त गरेको थियो । स्वास्थ्य बिमा सेवा बन्द भएसँगै उनीहरूको रोजगारीसमेत प्रभावित भएको छ ।

सरकारले १९ वटा निजी मेडिकल कलेजसहित ३६ वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा स्थगित गरेको छ । ती अस्पतालमा करिब दुई हजार दुई सय कर्मचारी कार्यरत थिए ।

स्वास्थ्य बिमामार्फत उपचार गराउनेमध्ये करिब ४० प्रतिशत बिरामी निजी स्वास्थ्य संस्थामा जाने गरेका थिए । उनीहरूले बिमाबाहेक उपचार खर्चको २० प्रतिशत रकम स्वयं व्यहोर्नुपर्ने व्यवस्था थियो ।

विराट मेडिकल कलेजमा बिहीबार मात्र विभिन्न रोगको शल्यक्रियाका लागि ४५ जना बिरामी भर्ना हुन आएका थिए ।

अस्पताल प्रशासनले स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको जानकारी गराएपछि केही बिरामीले विरोध गरेका थिए भने केहीले पूर्वसूचनाबिना सेवा बन्द गरिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

स्वास्थ्य बिमा बोर्डमा दैनिक करिब ७० हजार बिरामीको दाबी पर्ने गरेको छ । तीमध्ये ४० देखि ४५ प्रतिशत दाबी निजी स्वास्थ्य संस्थाबाट आउने गरेको बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति ले बताइन् ।

“यो निर्णय गर्नु उपयुक्त थिएन,” प्रजापतिले भनिन्, “तर बोर्ड बाध्यात्मक परिस्थितिका कारण निजी अस्पतालको सेवा स्थगित गर्ने निर्णयमा पुगेको हो ।”

बोर्डले गत मङ्गलबार निजी स्वास्थ्य संस्थाले दिँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो । “यो निर्णयबाट म आफैं पनि दुःखी छु,” उनले भनिन्, “तर बढ्दो आर्थिक दायित्वका कारण यस्तो निर्णय लिनुपरेको हो ।”

उनका अनुसार गत मङ्सिरसम्म स्वास्थ्य बिमा बोर्डमा आठ अर्ब रुपैयाँभन्दा बढी दाबी पुगेको छ भने प्रतिमहिना करिब दुई अर्ब ५० करोड रुपैयाँ बराबरको दाबी आउने गरेको छ ।

बढ्दो वित्तीय दबाबका कारण निजी स्वास्थ्य संस्थामा उपलब्ध गराइँदै आएको सेवा स्थगित गर्नुपरेको बोर्डको भनाइ छ । बोर्डले शनिबारदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया