सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
घटनास्थलमै पुगेर सुरक्षा अधिकारीसँग छलफल गरेका सांसद थापाले नागरिकमाथि गोली चलाउनु कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने बताएका छन्।
उनका अनुसार विवाद नियन्त्रणका क्रममा गोली चलाउनुपर्ने अवस्था नरहेको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्। ‘हातमा हतियार छ भन्दैमा नागरिकमाथि गोली चलाउन मिल्दैन। यस घटनामा गोली चलाउनुपर्ने अवस्था थिएन,’ थापाले भने।
प्रदेस खबरसँग कुरा गर्दै सांसद थापाले घटनाको निष्पक्ष छानबिनका लागि आफूले सरकारका सम्बन्धित सबै निकायसँग समन्वय गरिसकेको जानकारी दिए। ‘मैले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारका सबै अंगसँग कुरा गरिसकेको छु। छिट्टै छानबिन समिति गठन हुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने।
उनले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न तथा दोषीमाथि अविलम्ब कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।
सांसद थापाले घटनाका बेला स्थानीय प्रशासन र सुरक्षा निकायबीच आवश्यक समन्वय नभएको आशंका पनि व्यक्त गरेका छन्। उनले जिल्ला प्रमुख अधिकारी (सीडीओ)सँग जानकारी माग्दा स्पष्ट जवाफ नपाएको र जिल्ला प्रहरी प्रमुख (एसपी)ले फोनसमेत नउठाएको गुनासो गरे।
घटनाको प्रारम्भिक अवस्था बुझ्न आफू रातिसम्म घटनास्थलमै रहेको उल्लेख गर्दै उनले सुरक्षा निकायबाट समेत स्पष्ट विवरण प्राप्त गर्न नसकेको बताए।
घटनामा घाइते भएका केही व्यक्ति उपचार नपाई लुकेर बसेको हुन सक्ने आशंका व्यक्त गर्दै उनले उनीहरूको खोजी गरी तत्काल उपचारको व्यवस्था गर्न प्रशासनसँग आग्रह गरेका छन्। घाइतेहरूको उपचारलाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै आवश्यक परे काठमाडौंसम्म उपचारको व्यवस्था मिलाउन आफूले पहल गर्ने प्रतिबद्धता पनि थापाले जनाए।
नयाँ सरकार गठन भएको समयमा यस्ता घटनाले देशभर नकारात्मक सन्देश जाने भन्दै उनले सुरक्षा निकाय र स्थानीय बासिन्दालाई संयमता अपनाउन आग्रह गरेका छन्। धार्मिक तथा सामुदायिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।























