बुढीगंगा । टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको आगामी भदौ ७ गते आइतबार हुने निर्वाचनका लागि अध्यक्ष कृष्णबहादुर केसी नेतृत्वको उम्मेदवार समूहले सुशासन, पारदर्शिता र गुणस्तरीय खानेपानी सेवाका विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको छ।

उम्मेदवार समूहले संस्थालाई प्रविधिमैत्री, पारदर्शी तथा जनउत्तरदायी बनाउँदै उपभोक्तालाई स्वच्छ र नियमित खानेपानी उपलब्ध गराउने जनाएको छ। साथै, सम्बन्धित पालिका र सडक विभागसँग आवश्यक पूर्वसमन्वय गरेर मात्रै पाइप तथा सडक निर्माणका काम अघि बढाउने नीति समूहले अघि सारेको छ।

संस्थाको नीतिगत सुधारका लागि विधान संशोधन, कर्मचारी तथा उपभोक्ताको क्षमता अभिवृद्धि र पूर्ण आर्थिक पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाइएको छ। उपभोक्तालाई सहज हुने गरी सर्वसुलभ महसुल दर निर्धारण गर्ने योजना पनि समूहले सार्वजनिक गरेको छ।

खानेपानीको गुणस्तर कायम गर्न दक्ष प्राविधिक नियुक्ति, नियमित प्रयोगशाला परीक्षण तथा पुराना पाइपलाइन फेर्ने योजना अघि सारिएको छ। पानीको आपूर्ति बढाउन कम्तीमा दुईवटा नयाँ बोरिङ थप गर्ने र मर्मत–सम्भारलाई प्रभावकारी बनाउँदै पानीको चुहावट १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको समूहले जनाएको छ।

त्यस्तै, उपभोक्ताका गुनासा तथा समस्याको तत्काल समाधानका लागि टोल–फ्री सेवा सञ्चालन गर्ने प्रतिबद्धता समूहले जनाएको छ। उम्मेदवार समूहले “सफा पानी, पारदर्शी–हाम्रो अभियान” तथा “स्वच्छ खानेपानी–सुखी जीवन–हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ निर्वाचन अभियान अघि बढाएको छ।

निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कृष्णबहादुर केसी (चम्चा छाप), उपाध्यक्षमा चण्डीप्रसाद रेमी (लालटिन छाप), सचिवमा कञ्चन न्यौपाने (क्याप टोपी छाप) र कोषाध्यक्षमा गोकुलनाथ मण्डल राजवंशी (प्लेन छाप) सहित सदस्य पदका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। केही महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्।

उम्मेदवार समूहले सम्पूर्ण उपभोक्तालाई नागरिकता र खानेपानीको बिलसहित मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया