बुढीगङ्गा । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा बुढीगङ्गा गाउँ युवा परिषद्को आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरी दिवस सम्पन्न गरिएको छ।
युवा दिवसको अवसरमा जनप्रतिनिधिसँग युवा संवाद, युवा तथा विद्यार्थीका अधिकार र कर्तव्यसम्बन्धी अभिमुखीकरण, वृक्षरोपण तथा संरक्षण अभियान, सरसफाइ तथा प्लास्टिक न्यूनीकरणसम्बन्धी सचेतना अभियान सञ्चालन गरिएको थियो।
त्यसैगरी विद्यार्थीसँग अन्तरक्रिया, खुला वक्तृत्वकला प्रतियोगिता, रक्तदान, खेलाडी सम्मान तथा पुरस्कार वितरणलगायतका कार्यक्रमसमेत आयोजना गरिएको युवा परिषद्ले जनाएको छ।
सप्ताहव्यापी कार्यक्रमले युवाको नेतृत्व विकास, अधिकार तथा कर्तव्यबारे सचेतना अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र युवाको सहभागितालाई थप प्रभावकारी बनाउन योगदान पुगेको आयोजकको भनाइ छ।
युवा परिषद्का सचिव कृष्णप्रसाद भट्टराईले सप्ताहव्यापी कार्यक्रम सफल बनाउन समन्वय, सहकार्य र सहयोग गर्ने सम्पूर्ण सङ्घ–संस्था, जनप्रतिनिधि, विद्यार्थी, युवा तथा सरोकारवाला निकायलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा बुढीगङ्गा गाउँ युवा परिषद्ले सम्पूर्ण युवाहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।























