विराटनगर / शिक्षादीप कलेज, विराटनगरमा ‘AI, Digital Era, Social Media or Science and Technology’ विषयवस्तुमा आधारित कविता प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता, साहित्यप्रतिको रुचि तथा समसामयिक प्रविधिका विषयमा आफ्नो विचार अभिव्यक्त गर्ने क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम भएकी छन्। त्यस्तै रिजु अधिकारी र विभूति विष्ट द्वितीय, प्रिया दर्नाल र सन्ध्या धमला तृतीय भएका छन्। केशव झा, खान्सा तनविर र सहिष्णुता बरालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रस्तुत कवितामार्फत विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल प्रविधिको बढ्दो प्रभाव, सामाजिक सञ्जाल तथा विज्ञान–प्रविधिले समाज र मानव जीवनमा पारेको प्रभावलगायतका समसामयिक विषयलाई सिर्जनात्मक ढंगले प्रस्तुत गरेका थिए।
प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, मिनकुमार ‘नवोदित’ र विमल किशोर श्रीवास्तव रहनुभएको थियो।
प्रतियोगिताको उद्घाटन शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गर्नुभएको थियो। उहाँले विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटनका लागि यस्ता सिर्जनात्मक तथा साहित्यिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
प्रतियोगिताले प्रविधि र साहित्यबीचको सम्बन्धलाई उजागर गर्दै विद्यार्थीहरूलाई आधुनिक समयका चुनौती र सम्भावनाबारे सिर्जनात्मक रूपमा सोच्न तथा आफ्ना विचार प्रस्तुत गर्न प्रेरित गरेको आयोजकले जनाएको छ।
#breakingnepalnews #Biratnagar #NewsUpdate

तपाईको प्रतिक्रिया