विराटनगर । सङ्खुवासभाका महत्वपूर्ण सडक आयोजनाहरूको निर्माण कार्य पटक–पटक म्याद थपिँदासमेत अपेक्षित गतिमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता नै रद्द गर्ने चेतावनी दिइएको छ। लामो समयदेखि आयोजना निर्माणमा ढिलाइ हुँदा स्थानीयस्तरमा जनगुनासो र सार्वजनिक दबाब बढेपछि प्रदेश सरकारले अब काममा थप ढिलाइ नगर्न निर्माण व्यवसायीलाई स्पष्ट निर्देशन दिएको हो।

मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवाबेसी बहुवर्षीय योजना तथा गुफापोखरी–चैनपुर–बार्हबिसे बहुवर्षीय आयोजनाको निर्माणमा भइरहेको ढिलाइबारे कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, आर्थिक मामिला तथा योजनामन्त्री राजेन्द्र कार्की, मन्त्रालयका सचिव, सम्बन्धित जिल्लाका कर्मचारी तथा निर्माण व्यवसायीबीच बैठक बसेर विस्तृत छलफल गरिएको हो।
बैठकमा पटक–पटक म्याद थपिए पनि निर्माण कार्यले अपेक्षित गति लिन नसकेको विषयलाई गम्भीरतापूर्वक समीक्षा गरिएको थियो। लामो समयसम्म आयोजना सम्पन्न नहुँदा स्थानीयवासीले भोग्नुपरेको समस्या, सडक पूर्वाधारमा परेको असर तथा राज्यको लगानीको प्रभावकारिताका विषयमा समेत छलफल भएको थियो।

छलफलका क्रममा अब निर्माणमा थप ढिलाइ स्वीकार्य नहुने स्पष्ट पार्दै निर्माण व्यवसायीलाई तोकिएको ठेक्का अवधिभित्रै काम सम्पन्न गर्न निर्देशन दिइएको छ। निर्माण व्यवसायीले पनि बाँकी कामलाई तीव्रता दिई निर्धारित अवधिभित्र आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकले सहमतिअनुसार तोकिएको अवधिमा निर्माण कार्य अघि नबढाए प्रचलित कानुन तथा ठेक्का सम्झौताबमोजिम ठेक्का रद्द अर्थात् सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ।
वर्षौँदेखि निर्माणमा ढिलाइ हुँदै आएका आयोजनामा अब आश्वासनभन्दा परिणाम देखिनुपर्नेमा बैठकले जोड दिएको छ। जनताको लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै आयोजना समयमै सम्पन्न गराउन सम्बन्धित निकाय, कर्मचारी र निर्माण व्यवसायीलाई जिम्मेवार तथा जवाफदेही बनाउनुपर्नेमा समेत जोड दिइएको छ।
सडक आयोजना समयमै सम्पन्न भए सङ्खुवासभाका दुर्गम तथा ग्रामीण क्षेत्रको यातायात सहज हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया