विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवामा बुधबार बिहान आगलागी हुँदा दुईवटा पसलका सामान जलेर नष्ट भएका छन् । स्थानीय निर्मल पौदारको दुई तले पक्की घरको माथिल्लो तलाबाट बिहान ३ बजेतिर आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक (सई) खड्ग राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
विराटनगर महानगरपालिका र दुहबी नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा आगलागी बिहान ५ः१० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट पौदारको दुई तले पक्की घरमा आंशिक क्षति पुगेको छ ।
घरका दुईवटा सटरमा सञ्चालन हुँदै आएको हार्डवेयर पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । पसलमा भएको क्षतिको यकिन विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही ठाउँमा सुनसरीको दुहबी नगरपालिका–५ का दशरथ हलुवाईको दुईवटा सटर भाडामा लिएर दुहबी–६ का पिन्टु साहले सञ्चालन गर्दै आएको किराना पसलका सम्पूर्ण सामानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
उक्त पसलमा भएको क्षतिको विवरण पनि खुल्न बाँकी छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाइएको जनाउँदै प्रहरीले क्षतिको विवरण संकलनको काम पनि भइरहेको जानकारी दिएको
छ ।























