सप्तरी । सप्तकोशी नदीको पानी बस्तीमा पसेपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १७ घरपरिवार प्रभावित भएका छन् । वडा नम्बर ४ र ५ मा नदीको पानी घरभित्र पसेपछि प्रभावित परिवारलाई अग्लो कोशी बाँधमा सारिएको छ । प्रभावित परिवारमा चार जना सुत्केरी महिला समेत रहेका छन् ।
गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले घरमा पानी पसेपछि सुत्केरी महिलासहित प्रभावित परिवार सुरक्षित स्थानका रूपमा कोशी बाँधमा बसेको जानकारी
दिए । उनका अनुसार वडा नम्बर ४ को टिकुलिया खंग टोलमा बौवालाल खंग, हरिलाल खंग, बद्री खंग, रजिया देवी खंग, सुकराती खंग, चनाइ खंग, लक्ष्मण खंग, राजकुमार खंग, धर्मी खंग, जलेश्वर मुखिया र अखलेश मुखियाको घरमा पानी पसेको छ ।
यस्तै, वडा नम्बर ५ मा भरत मण्डल, महेश साह, सियाराम मुखिया, गंगाराम मुखिया, मन्टुन मुखिया र बेचु मुखियाको घरमा समेत कोशीको पानी पसेको झाले बताए । बस्तीमा पानी पस्नुका साथै तिलाठी कोइलाडी–४ स्थित सशस्त्र प्रहरीको टिकुलिया बेस क्याम्पसमेत प्रभावित भएको छ ।
बेस क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी बलका मधेश प्रदेश प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले स्थलगत निरीक्षण गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कोशीमा पानीको बहाव उच्च भएपछि नदीको बाढी बस्तीमा पसेको हो ।























