विराटनगर । जेसीआई टंकिसिनवारी जुनियरको आयोजनामा ‘ध्रुवलक्ष्मी एरिया–ए महिला फुटसल प्रतियोगिता २०२६’ हुने भएको छ। एरिया ‘ए’ अन्तर्गतका जेसीआई शाखाहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो।
महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा विभिन्न जेसीआई शाखाबीच आपसी सम्बन्ध, सहकार्य र एकता थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिता २०८३ साल भदौ ६ गते विराटनगरस्थित सायस फुटसल, एयरपोर्ट मोडमा सञ्चालन हुनेछ। प्रतियोगितामा एरिया ‘ए’ अन्तर्गतका विभिन्न जेसीआई शाखाका महिला टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
‘परिवर्तनशील संसारका लागि नेतृत्व विकास’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिता प्रोजेक्ट संकल्प २०२६ अन्तर्गत सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताले महिलाको खेलकुद सहभागिता बढाउनुका साथै नेतृत्व क्षमता, टीमवर्क तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ।
प्रतियोगिताका लागि जेसीआई टंकिसिनवारी जुनियरले एरिया ‘ए’ अन्तर्गतका सम्पूर्ण जेसीआई शाखालाई महिला टोलीसहित सहभागिताका लागि आह्वानसमेत गरेको छ।
मिति : २०८३ भदौ ६ गते
स्थान : सायस फुटसल, विराटनगर























