उदयपुर । सामुदायिक वन उपभोक्ता समूहको काम सहज बनाइदिने भन्दै घुस लिएको आरोपमा डिभिजन वन कार्यालय उदयपुर, गाईघाटका वन अधिकृत भुवन पौडेल पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले पौडेललाई कार्यालय परिसरबाटै १६ हजार २५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो। उनी डिभिजन वन कार्यालयमा सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारीका रूपमा कार्यरत छन्।
विशेष सूचनाका आधारमा अख्तियारको टोली बिहीबार दिउँसो करिब साढे ४ बजे कार्यालय पुगेको थियो। निगरानीका क्रममा पौडेलले सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम मिलाइदिने भन्दै रकम लिएको भनिएपछि टोलीले उनलाई नगदसहित पक्राउ गरेको जनाइएको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले वन अधिकृत पौडेल घुस रकमसहित पक्राउ परेको जानकारी आफूलाई प्राप्त भएको बताए। उनका अनुसार घटनाबारे अख्तियारले आवश्यक अनुसन्धान अघि बढाउनेछ।
पौडेलले रकम मागेको भनिएको सामुदायिक वन उपभोक्ता समूहको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन। अख्तियारले घटनासँग सम्बन्धित थप प्रमाण तथा विवरण संकलन गरिरहेको जनाएको छ।
डिभिजन वन कार्यालय गाईघाटका कर्मचारीले सेवाग्राही तथा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसँग काम सहज बनाइदिने भन्दै रकम माग्ने गरेको गुनासो यसअघि पनि आउने गरेको बताइएको छ। वनसम्बन्धी काममा अनावश्यक झन्झट सिर्जना गरी रकम असुल्ने गरेको आरोपसमेत सेवाग्राहीबाट आउने गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया